काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई पत्र नकाट्न आग्रह गरेका छन्।
कार्यक्रम स्थल फोहोर हुने र महानगरका संरचना तोडफोड हुने गरेकोमा महानगरले आयोजक लगायत कार्यक्रमसँग सम्बन्धित पक्षलाई पत्र काट्ने गरेको छ।
राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा गरेको थियो।
उक्त सभामा सम्बोधन गरेपछि अध्यक्ष लिङ्देनले कार्यक्रम स्थलको फोहोर स्वयमसेवकहरूले नै उठाउने बताए।
‘यो ९बल्खु० काठमाडौं महानगरभित्र पर्छ होइनरु हाम्रो बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ अध्यक्ष लिङ्देनले भने, ‘हाम्रो साथीहरूलाई आफै सफा गरेर जान आग्रह गर्छु, केही पनि फोहोर रहने छैन है। पत्रकार र नागरिक समाजहरूले अनुगमन गरिदिनु होला है, फोहोर गरेबापत भनेर भोलि चिठी नआओस्।’
राप्रपाले मंगलबार अपराह्न महानगरपालिकाको गाडी बोलाएर फोहोर उठाएर पठाउने तयारी गरेको छ।
यसअघि गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थल गेटदेखि विभिन्न ठाउँमा महानगरका संरचनामा क्षति र फोहोर भएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही महानगर पुगेर उक्त जरिवाना बुझाएका थिए।