शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

विश्वकपमा पुग्ने निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

  • 325
    SHARES
  • https://indrenipost.com/posts/8779
    बैशाख ६, २०८२ शनिबार
    विश्वकपमा पुग्ने निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेल आज हुँदैछ।

    मुलपानी मैदानमा नेपाल, अफगानिस्तान, हङकङ, ओमान र युएईबीच भएको छनोट प्रतियोगिताको अन्तिम खेल आज हुँदैछ। प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्दैछ। खेल बिहान साढे ९ बजेदेखि सुरू हुँदैछ।

    शनिबार हुने खेल जितेको अवस्थामा नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू-१९ विश्ककपमा छनोट हुनेछ। एसिया छनोटको प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले सुरूवाती तीन तीन खेल जितेका छन् भने छ-छ अंक जोडेका छन्। दुवै टोलीले लिग चरणमा युएई, हङकङ र ओमानलाई हराएका थिए।

    रनरेटमा नेपालभन्दा अफगानिस्तान अघि छ। त्यसैले खेलमा वर्षाले अवरूद्ध भएमा नेपाल विश्वकप होडबाट बाहिरिन सक्छ। नेपालका लागि भोलिको खेलमा जितबाहेक अर्को विकल्प छैन।

    एसिया छनोटअघि नेपाल र अफगानिस्तान तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए। तल्लो मुलपानी मैदानमा भएको सिरिजको सुरूवाती खेलमा नेपालमाथि अफगानिस्तान हाबी भएको थियो। यद्यपी दोस्रो र तेस्रो खेलमा नेपालले पुनरागमन गर्‍यो। दोस्रो खेलमा एक रनले पराजित भएको नेपालले अन्तिम खेलमा जित निकालेको थियो।

    अफगानिस्तानसँग मुलपानी मैदानमा अभ्यास सिरिज खेल्दा फाइदा पुगेको नेपालका कप्तान नरेन भट्ट बताउँछन्। नेपालका प्रशिक्षक शक्ति गौचन अफगानिस्तान टेस्ट टोली भए पनि नेपाल आत्तिनु नपर्ने तर्क गर्छन्। उनले अभ्यास खेलबाट नेपालले अफगानिस्तानसँग राम्रो प्रतिस्पर्धा गर्ने सन्देश दिएको र अन्तिम खेलको चुनौती पार गर्न आफूहरू तयार भएको उनले बताए।

    युएईविरूद्धको पहिलो खेलमा अर्धशतक प्रहार गरेका नरेनले बुधबार हङकङसँग पनि उत्कृष्ट ब्याटिङ गरे। पछिल्ला खेलमा लयमा फर्कदा आफ्नो आत्मविश्वास बढेको नरेनको भनाइ छ। उनले तीन खेलमा ११८ रन जोडेका छन्। नरेनसहित नेपालका ओपनर साहिल पटेलले पनि तीन खेलमा ११८ रन नै जोडेका छन्। जारी छनोटमा नरेन र साहिल सर्वाधिक रन प्रहार गर्ने ब्याटरको दोस्रो स्थानमा छन्।

    नेपालका लागि लेगस्पिनर युवराज खत्रीले पछिल्ला दुई खेलमा नौ विकेट लिइसकेका छन्। वर्षाले प्रभावित भएको युएईविरूद्ध विकेट लिन नसकेका खत्रीले दुई खेलमा उत्कृष्ट बलिङ गरेका छन्। खत्री जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा छन्। उनी सफल हुँदा टोलीका लागि फाइदा पुग्ने कप्तान भट्टले बताए। नेपालका प्रशिक्षक शक्ति गौचन पनि युवराज ‘टोलीको ट्रम्प कार्ड’ भएको बताउँछन्।

    खत्रीसँगै नेपालका सन्तोष यादवले ६ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने बलरको दोस्रो स्थानमा छन्। अफगानिस्तानका लागि खादिल अहमदजाइले तीन खेलमा २०२ रन बनाइसकेका छन्। उनी सर्वाधिक रन प्रहार गर्ने ब्याटरको शीर्ष स्थानमा छन्। अफगानिस्तानका लागि हफिजुल्लाह र नुरिस्तानी ओमर्जीले ५-५ विकेट लिएका छन्। उनीहरु सर्वाधिक विकेट लिने बलरको सूचीमा तेस्रो स्थानमा छन्।

     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij