काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान संविधानका अन्तरवस्तुमा केही महत्वपूर्ण फेरबदलको प्रस्ताव अघि सार्ने भएको छ । गणतन्त्र र धर्मनिरपेक्षताको एजेन्डाबाट भने रास्वपा तत्काल पछि हट्ने छैन ।
एमाले र कांग्रेसको गठवन्धन सरकार बनेपश्चात संविधान संसोधनको बहस चर्कोरुपमा उठेको थियो । दुई दलले गठवन्धन सरकारका लागि गरेको सहमतिपत्रमा नै एउटा बुँदा संविधान संसोधनको छ । तर, अहिलेसम्म संविधान संसोधनका लागि कुनै ठोस गृहकार्य सरकार वा गठवन्धन दलहरुका तर्फबाट भएको छैन । संविधान संसोधनको विषय सतहमा आएपश्चात रास्वपाले पनि यसमा चासो दिएको थियो । रास्वपाको केन्द्रीय समिति वैठकले त्यति नै बेला सन्तोष परियारको संयोजकत्वमा पार्टीका तर्फबाट संविधान परिमार्जनको खाका बनाउन एउटा कार्यदल बनायो ।
सन्तोष परियारको संयोजकत्वमा बनेको कार्यदलमा सदस्य सचिव गणेश कार्की छन् । सदस्यहरुमा असिम साह, गणेश पराजुली, क्रान्तिशिखा धिताल, कुसुम महर्जन, मेघ आलो, शोविता गौतम र डा। नन्दन यादव रहेका छन् ।कार्यदलको यसअघि दुईवटा वैठक बसेर केही गृहकार्य भएको सदस्य सचिव कार्कीले बताए । तेस्रो वैठक भोलि बस्न लागेको उनले जानकारी दिए । ‘भोलिको वैठकबाट हाम्रो प्रस्तावलाई अन्तिम रुप दिने तयारी छ’, उनले भने ।
भोलिको वैठकका लागि चार वटा एजेन्डा तय गरिएको छ । सत्ता पक्षको नजरमा संविधान संशोधनको आवश्यकताका बारेमा समसामयीक विवेचना, संविधानलाई जीवनन्त र गतिशील बनाउन संविधान परिमार्जनको विषयमा रास्वपाको धारणा दुई मुख्य एजेन्डा हुन् ।
सत्तापक्षले किन संसोधनको मुद्दा उठाइरहेको छ भन्ने विषयलाई रास्वपाले सशंकितरुपमा हेरेको छ । कार्की भन्छन्, ‘सत्तापक्षले देशलाई दुईदलीय राजनीतिक प्रणालीमा लैजान खोजेको भन्ने कुराहरु पनि आएका थिए । त्यसैले हामीले संविधान संसोधनको विषयलाई सतर्कतापूर्वक हेरेका छौं ।’
कार्यदलले रास्वपाका राजनीतिक दस्तावेजहरुमा आधारित रहेर संविधान परिमार्जनको प्रस्ताव तयार गर्न लागेको हो । यसमा देशको शासकीय स्वरुप, संघीय प्रणाली तथा अन्य विषयहरुमा परिमार्जनका लागि सिफारिस गरिने छ ।
रास्वपाले कम्तिमा १० वर्षदेखि कुनै पनि पार्टीमा संलग्न नरहेको अराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने वकालत गर्दै आएको छ । यसैगरि, प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने रास्वपाको अर्को एजेन्डा हो ।
प्रदेशको मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने र प्रदेश सभा खारेज गर्नुपर्ने प्रस्ताव रास्वपाले अघि सार्ने छ । संवैधानिक आयोगहरु अत्यधिक संख्यामा रहेकाले सबै खारेज गरेर एउटा मात्रै कायम राख्नुपर्ने रास्वपाको अर्को महत्वपूर्ण प्रस्ताव रहने छ ।
गणतन्त्र र धर्मनिरपेक्षतामा भने रास्वपा आधारभूतरुपमा अडिक रहनेछ । पार्टी गणतन्त्रप्रति सैद्धान्तिकरुपमा प्रतिवद्ध रहेको कार्की बताउँछन् । धर्मनिरपेक्षतालाई कायम राख्दै गर्दा देशको सनातन धर्म संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने पार्टीको मत रहेको उनको भनाइ छ ।