काठमाडौं । एमालेको दसौं महाधिवेशन मंसिर १०–१३ सम्म बुटवलमा हुने भएको छ । विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र स्थान घोषणा गरेका हुन् ।
राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेको पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइरहेको छ ।
आइतबार सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक उपमहासचिव र सात सचिव हुने व्यवस्था गरेको छ । महाधिवेशनबाट सबै नेताहरू निर्वाचित हुनेछन् । एमालेले उम्मेदवार बन्नका लागि योग्यता निर्धारण गरेको छ ।
७० वर्षे उमेर हदको पनि व्याख्या गरेको छ । विधान महाधिवेशनले कुनै व्यक्ति उम्मेदवार चुनाव जितेपछि ७० वर्ष उमेर कटेको रहेछ भने त्यसले पूर्ण कार्यकाल उक्त पदको जिम्मेवारीमा बसेर काम गर्न पाउने व्याख्या गरेको छ ।