आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

अमेरिका अर्को इपिसेन्टरः न्युयोर्कमा बुलेट ट्रेनभन्दा तीव्र गतिमा फैलदै कोराना

  • 44.4K
    SHARES
  • https://indrenipost.com/posts/150
    चैत १२, २०७६ बुधबार
    अमेरिका अर्को इपिसेन्टरः न्युयोर्कमा बुलेट ट्रेनभन्दा तीव्र गतिमा फैलदै कोराना

    बिबिसी । न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड-१९ बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्।

    मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए।

    संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे।

    संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल सात हजार रहेको उनले बताए।

    न्यूयोर्कमा हालसम्म २५ हजारलाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्य भइसकेको छ।

    अमेरिका अर्को केन्द्रविन्दु

    विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको बतायो।

    राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन्।

    न्यूयोर्कबाट आउनेहरू क्वारान्टीनमा

    अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर ुसेल्फ क्वारान्टीनुमा बस्न भनेको छ।
    ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो शहरलाई सङ्क्रमणको एक केन्द्रविन्दु भएको बताए।

    अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेका मध्ये दुई तिहाइ सोही शहरबाट पत्ता लागिरहेका छन्।

    अमेरिकामा ५३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। सात सयजनाको ज्यान गइसकेको छ।

    राष्ट्रपति ट्रम्पले भने, 'हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन्। इस्टर सम्ममा अमेरिकीहरू काममा फर्कनेमा म आशावादी छु। तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु।'

    अन्यत्रको अवस्था

    ब्रिटेनले आगामी साता चार हजार मानिसलाई उपचार गर्न सक्ने आपतकालीन उपचार कक्ष खोल्ने जनाएको छ।

    स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले पूर्वी लण्डनस्थित एक प्रदर्शनीकक्षलाई अस्पतालमा परिणत गरिने बताए।

    स्वास्थ्य सेवालाई सघाउ पुर्‍याउन अनि जोखिममा रहेका मानिसलाई मद्दत गर्न अढाइ लाख स्वयंसेवी भर्ना गर्ने प्रयास गरिने पनि उनले बताए। ब्रिटेनमा थप ८७ सहित ४२२ जनाको कोभिड १९ बाट ज्यान गइसकेको छ।

    कोरोनाभाइरसका कारण इटलीले चर्को मूल्य चुकाउने क्रम रोकिएको छैन। त्यहाँ गत २४ घण्टामा थप ७४३ जनाको ज्यान गएको छ।

    तर नयाँ सङ्क्रमणको वृद्धि दर भने लगातार तेस्रो दिन पनि घटेको छ।

    स्पेनमा एक दिनमा पाँच सयभन्दा धेरैको ज्यान गएपछि उसले उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग मानवीय सहायता मागेको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij