आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

चीनबाट आएका सामग्री वितरण शुरु, के छ नेपालको स्थिति ?

  • 37.1K
    SHARES
  • https://indrenipost.com/posts/169
    चैत १६, २०७६ आइतबार
    चीनबाट आएका सामग्री वितरण शुरु, के छ नेपालको स्थिति ?

    काठमाडाैं । कोरोनाभाइरसको सङ्क्रमण नेपालमा देखिएयताकै धेरै परिमाणमा रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक मानिएका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले पाएको अधिकारीहरूले बताएका छन्।

    उनीहरूका अनुसार ती सामग्री आइतवारदेखि नै विभिन्न प्रदेशलाई वितरण गर्न थालिएको छ।

    प्रयोगशालाको विस्तार गरेर कोरोनाभाइरस परीक्षण क्षमता बढाउन आवश्यक सामग्रीका साथै उपचार र निगरानीमा खटिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने परिधान (पीपीई) को माग बढेको बेला मन्त्रालयले ती सामग्री पाएको हो।

    सरकारले खरिद गरेका सामान सम्बन्धित कम्पनीले मन्त्रालयलाई बुझाएका छन्। चीनको सहयोगमा आएका सामग्री चिनियाँ राजदूत होउ याङ्छीले नेपालका स्वास्थ्यमन्त्री तथा अन्य अधिकारीहरूलाई हस्तान्तरण गरेकी छन्।

    शनिवार राति आएको विमानमा चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेस्टमेन्ट ग्रूप र बेइजिङस्थित नेपाली दूतावासमा प्राप्त सामान थियो। सोही उडानमा चीनको प्रख्यात प्रविधि कम्पनी अलिबाबाको फाउन्डेशन र ज्याकमा फाउन्डेशनले पठाएको सामग्री रहेको बताइएको छ।

    नेपालले किनेको सामग्री कहिले आउँछ ?

    नेपालले चीनको एक कम्पनीबाट किनेको एक करोड तीन लाख अमेरिकी डलर बराबरको सामग्रीमध्ये केही समान मात्रै आएको र बाँकी सामान यो साता ९एप्रिल २ र ५ तारिखमा० ल्याइने बताइएको छ।

    चीनबाट ल्याइएका समान १९ प्रकारका छन्। तिनमा मेडिकल उपकरण, कोरोनाभाइरस जाँच गर्ने किट र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने परिधान ९पीपीई० तथा मास्क लगायतका सामान रहेको बताइएको छ।

    मन्त्रालयले ती सामान नेपाली सेनाको सहयोगमा सबै प्रदेशमा पठाइने जनाएको छ।
    सरकारले खरिद गरेका सामग्री र त्यसको मूल्यलाई लिएर अनेक टीकाटिप्पणी भइरहेका छन्। कतिपयले बढी मूल्यमा सामान खरिद गरिएको र त्यसमा अनियमितता भएको आशङ्का गरेका छन्।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद मूल्यमा कुनै अनियमितता नभएको दाबी गरे।

    उनले हाल विश्व बजारमा स्वास्थ्य सामग्रीको अभाव रहेको र त्यसको असर मूल्यमा पनि देखिएको बताए। चिनियाँ दूतावासले सहयोग गरेको सामग्रीको बिल देखाउँदै उनले त्यसमा भन्दा आफूले खरिद गरेको मूल्य सस्तो परेको दाबी गरे।

    के छ नेपालको स्थिति

    अहिलेसम्म सीमित परीक्षण किट र एउटा मात्रै प्रयोगशाला प्रयोगमा थिए। स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार अपराह्णसम्म ९१७ वटा नमुना परीक्षण गरिएको छ। तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

    अहिले सरकारले नेपालभित्रै कोरोनाभाइरस परीक्षण क्षमतालाई विस्तार गरेर दुई ठाउँमा पुर्‍याएको छ र अझै तीन ठाउँमा विस्तार गर्ने निर्णय गरिसकेको छ।

    अहिले सङ्क्रमित व्यक्तिमध्ये चार जनाको उपचार भइरहेको छ भने एक जना निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार चार बिरामीसहित १२ जना विभिन्न अस्पतालमा आइसोलेशनमा छन्।

    विदेशबाट केही साताअघि नेपाल फर्किएर विभिन्न लक्षणसहित बुटवलस्थित एक अस्पतलाममा क्वारन्टीनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ।

    तर उनलाई कोभिड-१९ भए वा नभएको पुष्टि भएको छैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्तिको शरीरबाट सङ्कलित नमुनाको परीक्षण हुन बाँकी भएको र त्यसपछि मृत्युको कारण स्पष्ट हुने बताएका छन्। सङ्क्रमणको पुष्टि भएका सबै जना विदेशबाट फर्किएका नेपाली नागरिक हुन्।

    के छ नयाँ स्वास्थ्यकर्मी भर्ना गर्ने तयारी ?

    स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणका बेला काम गर्ने गरी तीन महिनाका लागि विशेषज्ञ चिकित्सकदेखि स्टाफ नर्ससम्मको आवेदन माग गरेको थियो।

    तर आइतवार अन्तिम दिनसम्ममा पनि १४ जना विशेषज्ञ चिकित्सक मागेकोमा एक जनाको मात्रै आवेदन परेको स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ।

    शाखाका सहसचिव प्रमोद सिम्खडाले दिएको जानकारी अनुसार २० जना मेडिकल अधिकृत मागेकोमा ४४ जनाको आवेदन परेको छ। त्यस्तै १०० स्टाफ नर्सका लागि ३६३ जनाले आवेदन दिएका छन्। विगतको तुलनामा यो ज्यादै न्यून भएको बताइएको छ।

    यो समाचार बिबिसी नेपाली सेवाबाट लिइएको हो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij