काठमाडौं ।कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ।
कोरोनाको संक्रमणबाट अमेरिकामा दुई लाख मानिसको ज्यान जाने अनुमान गरिएको छ । अहिलेसम्मको तथ्यांकअनुसार अमेरिकामा १६३४९० जनालाई कोरोना भाइरसको संक्रम भैसकेको छ यो क्रम बढ्दो छ ।
अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँलाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा. एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन्।
त्यसैगरी सबैभन्दा बढीले ज्यान गुमाएको इटलीमा पनि यो रोगको संक्रमण एकलाख नाघेको छ । युरोप र अमेरिकाको अवस्था हेर्दा निकै खतरापूर्ण छ ।
चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीबा धेरै प्रभावित भएका छन्। आशा लाग्दो कुरा के छ भने चीनमा भने ८१ हजार संक्रमितमा ७६ हजार मानिसहरुलाई निको भएको छ । चीनको तथ्यांक हेर्दा विस्तारै अन्त पनि न्युनिकरण होला भन्ने आशा गर्न सकिन्छ । अहिलेसम्म विश्वभरी मेर्न, निको हुने र संक्रमण हुनेको संख्या यहाँ प्रस्तुत गरिएको छ । यो तथ्यांक रातोपाटीबाट लिइएको हो ।