काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नामिबियाविरुद्ध मैदान उत्रिँदा नेपाल बदलाको लक्ष्यमा हुनेछ ।
यसअघि लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग चार विकेटको हार बेहोरेको थियो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । यता, नामिबियाले पनि यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हारको नतिजा आत्मसात गरेको छ ।
पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो । आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।