पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलले लुम्बिनीमा रहेको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा सार्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।
संविधानको अनुसूची–४ अनुसार हाल लुम्बिनी प्रदेशमा रहेको तर त्यसलाई गण्डकीमा फिर्ता ल्याउन भन्दै बुधबार गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।
गण्डकीमा रहेको सुस्ता गाउँपालिका लुम्बिनीमा कसरी पर्यो, सुस्ता र विनयी त्रिवेणी गाउँपालिका तथा प्रदेशको सीमा परिवर्तन कहिले, कुन प्रक्रिया र कुन कानुनी व्यवस्था अनुसारको निर्णय भएको हो भन्ने प्रश्नसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले अध्ययन गर्न र
यथाशीघ्र प्रदेशसभामा प्रस्तुत गर्न माग गरेका छन् । संविधानअनुसार सुस्ता गण्डकी प्रदेशको भूगोल भए पनि अहिले लुम्बिनीमा परेको छ ।
गण्डकीको प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि यसबारे निर्णय गरेर संघमा पठाएको थियो ।
तर, अहिलेसम्म कुनै जवाफ आएको छैन । अहिले संकल्प प्रस्ताव नै दर्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने माग एमालेले राखेको छ ।
उनले गण्डकी प्रदेशले गुमाएको भूगोल फिर्ता ल्याउन कानुनी प्रक्रिया अगाडि बढाउनको लागि प्रदेश सरकारलाई निर्देशन दिन संकल्प प्रस्ताव दर्ता गरेको बताए ।