काठमाडौं । : काठमाडौंमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो। नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको योगदान गरे ।
उनले ३२ बल खेलेर ४ छक्का र १ चौकाको मद्दतले ४६ रन बनाए। ओपनिङमा आएका कुशल भुर्तेलले १६ बलको सामना गरेर २ छक्का र २ चौकाको सहायताले २५ रन जोडे ।
भुर्तेलभन्दा पहिले आउट भएका अर्का ओपनर आसिफ शेखले ९ बल खेल्दै १ छक्का र १ चौका प्रहार गर्दै ११ रन बनाए ।
विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३ छक्का र १ चौका हान्दै ३४ रन बनाए ।
३३ रन बनाएका कप्तान रोहित पौडेलले यसका लागि २४ बलको सामना गरे भने ५ चौका प्रहार गरे । २ चौकाको सहायताले १२ रन जोडेका अनिल साहले यसका लागि ११ बल खेले ।
सन्दिप जोराले पालीको अन्तिम बलमा क्याच आउट हुनुअघि १० बल खेलेर १ छक्का र ३ चौका प्रहार गर्दै २१ रन बनाए ।
अर्को छेउमा अविजित रहेका विवेक यादवले ८ बल खेलेर ७ रन बनाए । बलिङतर्फ आयरल्याण्डका लागि म्याथ्यू फोस्टरले ३ विकेट र बेन ह्वाइटले २ विकेट लिए ।
आयरल्याण्ड ए विरुद्धको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । अनिल शाह र विवेक यादव टोलीमा अटाउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई बेन्चमा राखिएको छ ।
नेपाल आज लगातार दोस्रो खेल पनि जित्दै सिरिज नै कब्जा गर्ने दाउमा छ । हिजो भएको पहिलो खेलमा नेपालले उल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।