काठमाडौँ, १२ साउन – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज काठमाडौँ उपत्यकासहितका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा सक्रिय रहेको छ ।
विभागले दिएको जानकारीअनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । भारी वर्षाको सम्भावना रहेकाले पहिरो, बाढी तथा सडक अबरुद्ध जस्ता सम्भावित जोखिमप्रति सतर्क रहन विभागले आग्रह गरेको छ ।
आज राति पनि देशभर सामान्य बदली रहने र गण्डकीलगायत पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।