काठमाडौं । त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो ।
नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ ।
नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ । युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो ।
युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ । रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो ।
गत सोमबार युएईसँग मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो ।
यस्तै कात्तिक १ गते भएको पहिलो खेलमा पनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो ।