काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले विपक्षी गठबन्धनमा सहभागी हुनु गल्तीको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा दुई/दुई पटक सरकार र विपक्षी गठबन्धनमा सहभागी हुनु गल्तीको निरन्तरता भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘दुई/दुई पटक सरकारमा गएर गरेको गल्ती, विपक्षी गठबन्धनमा सहभागी हुनु पनि त्यहीँ गल्तीको निरन्तरता हो । नो नट अगेन भनेर हामीले मत पाएको तथ्य बिर्सन हुँदैन ।’
२०७९ को आमनिर्वाचनमा रास्वपाले विभिन्न सामाजिक सञ्जालमार्फत पुराना दल र तिनका नेताहरूलाई भोट नदिन आग्रह गर्दै ‘नो नट अगेन’ अभियान नै चलाएका थिए ।
उक्त अभियानबाटै चौथो शक्ति आर्जन गरेको रास्वपाले बारम्बार गल्ती दोहोर्याउँदा जनमत भड्किन सक्ने भन्दै ढकालले सचेत रहन आग्रह गरेका छन् । विपक्षीको मञ्चमा रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्याल (डिपी)को आसनप्रति पनि ढकालले आपत्ति जनाएका छन् ।
आज (शुक्रबार) विपक्षी दलहरूको बैठकमा रास्वपाका कार्यवहाक सभापति डिपीको चौथो स्थानको आसन अपमान भएको भन्दै आपत्ति जनाएका हुन् ।
‘चौथो शक्तिको कार्यवहाक सभापतिको कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ,’ उनले लेखेका छन् ।
मुकुल ढकाललाई गत भदौमा रास्वपाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।
हेर्नुहोस् ढकालको स्टाटस :
रास्वपा विपक्षि हो , तर सरकारको मात्र विपक्षि होइन , काङ्ग्रेस-एमाले-माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षि हो । No Not Again. पूरानालाई बोकेर कतै पुगिन्न ।
दुइ दुइ पटक सरकारमा गएर गरेको गल्ती, विपक्षि गठबन्धनमा सहभागी हुनु पनि त्यहि गल्तिको निरन्तरता हो । नो नट अगेन भनेर हामीले मत पाएको तथ्य हामीले बिर्सन हुँदैन । बारम्बार एउटै गल्ती दोहोर्याउँदा जनमत हामीबाट भड्कन सक्छ, सचेत बनौँ । यो मञ्चमा हाम्रो उपस्थिति चित्त बुझ्ने कुरा होइन । त्यसमाथि, चौँथो शक्तिको का.सभापतिको कुर्सी जता राखियो, त्यो पनि अपमानजनक छ ।