काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले प्रवेश गर्दैछन् ।
उनी एमालेमा प्रवेश गर्ने भएपछि अभियानका बहुमत सदस्य नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका हुन् । अभियानका केन्द्रीय सदस्यलगायत प्रदेश इञ्चार्जहरू माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।
गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त अभियान त्यागेको घोषणा गरेका हुन् ।
अभियानका लुम्बिनी प्रदेश इन्चार्ज अर्याल, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले गौतमको अभियान त्यागेर माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।
उनीहरूले विचार मिल्ने माओवादी केन्द्रलगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन् । त्यसका लागि उनीहरूले अर्यालको संयोजकत्वमा ४ सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् भने समितिमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन् ।