काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संघठन अखिल (क्रान्तिकारी)को केन्द्रीय खुल्ला उपाध्यक्षमा सहिद पुत्र अटल आचार्यले उमेदवारी दर्ता गराएका छन् । भोलि (शनिबार) हुने अखिल (क्रान्तिकारी)को निर्वाचनमा आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका हुन् ।
परिवर्तनको संवाहक अखिल (क्रान्तिकारी)को वलिदानको गाथालाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित आफूले उमेदवारी दर्ता गराएको आचार्यले बताएका छन् ।
उनले विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षालाई साझा उद्देश्यमा आधारित नयाँ उचाइमा उठाउन संघर्षरत गर्ने बताएका छन् । आचार्यले संगठनभित्र आफ्ना प्रतिस्पर्धी नभई मित्र भएको बताए ।
‘म नेपाली जनयुद्धको सहिदको छोरा हुँ । हाम्रा बाबा, फुपूहरूले लडेर स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र राज्यप्रणालीलाई सुदृढ गर्न हाम्रो पुस्ता राजनीतिमा सक्रिय भएको छ,’ उनले भने, ‘संगठनभित्र हाम्रो उपस्थितिलाई सबै साथीहरूले स्वागत गर्नुभएको छ । आत्मियता व्यक्त गर्नुभएको छ ।’
अखिल (क्रान्तिकारी) भित्र अचार्यले वैचारिक, राजनीतिक र भावनात्मक सम्बन्ध रहेको स्पष्ट पारे । उनले भने, ‘संगठनभित्र कोही पनि नेता कार्यकर्ता मेरो विपक्षमा भएको मलाई लाग्दैन । यहीँ नै मेरो नेतृत्व छनोटको आधार हो । मैले जित्ने होइन, साथीहरूले अनुमोदन गर्नुहुनेछ ।’
उनले खुल्ला उपाध्यक्षमा विजयी भए अखिल (क्रान्तिकारी)लाई वैचारिक, सांगठनिक र भावनात्मक रूपमा नयाँ ढंगले एकताबद्ध गर्ने बताएका छन् । भुत्ते बन्दै गइरहेको संगठनलाई धारिलो बनाउन पहल गर्ने, डिजिटल युगमुखी संगठन बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले आगामी २०८४ को चुनावसम्म कम्तिमा पाँच लाख नयाँ विद्यार्थी गोलाकारभित्रको हँसिया हथौडाका भोट हाल्न तयार गर्ने संकल्प समेत गरेका छन् ।
अटल आचार्यले कमरेड पुष्पलालको नेतृत्वमा गठित भएर राणा शासनको अन्त्यसँगै फष्टाएको पञ्चातिविरुद्ध सघर्षबाट खारिएका कमरेड प्रचण्डको नेतृत्वमा ठूलो बलिदानी र सघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढाउन र लाखौँ युवा विद्यार्थी तयार पार्न आफूले उम्मेदवारी दिएको बताए ।
विदेशीहरूका लागि कामदार उत्पादन गर्न काटख्पा जस्तो बनिरहेको शिक्षा प्रणालीलाई समाजवादी शिक्षा प्रणालीमा रुपान्तरण गर्न सशक्त संघर्ष गर्न आफूले उमेदवारी दिएको उनको भनाइ छ ।
१० वर्षे सशस्त्र संघर्षमा अटल आचार्यका बुवा इन्द्रलाल आचार्य, फुपू ममता आचार्यसहित ११ जनाले बलिदानी दिएका छन् । उनीहरू सबैलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।