सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास र समृद्धिमा आफू नेतृत्वको पार्टीले निरन्तर ध्यान दिँदै आएको बताएका छन् ।
तराई मधेस जागरण अभियानअन्तर्गत खडक नगरपालिकामा आज आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा उनले भने, 'सुशासन कायम गर्नुपर्यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्यो, भनेर मलगायत पार्टीको सिंगो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।'
संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य भइसकेको उनको जिकीर थियो ।
अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकामा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराए ।
आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादीतिर उन्मुख रहेको उनको आरोप थियो । माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै उनले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पूरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाए ।