काठमाडौं । आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए ।
‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपूर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो ।
यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’
अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्षदेखि अन्तरालले खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा (जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।