काठमाडौं । नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको दशौँ उपाधिका लागि प्रतिस्पर्धा गर्ने सम्भावना यस वर्षका लागि धुमिल बनेको छ । जोकोभिचले कोभिड–१९ संक्रमणसम्बन्धी मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाले प्रवेशमा रोक लगाएको छ । उनको भिसा रद्द गरिएको छ ।
विश्व नम्बर एक जोकोभिचले मंगलबार सामाजिक सञ्जालमा आफूलाई विशेष छुट दिइएको बताएका थिए । जोकोभिचले भिक्टोरिया राज्य सरकारबाट आफूलाई विशेष छुट दिएको बताएका थिए ।
त्यसपछि कोभिड–१९ संक्रमणविरुद्धको खोप लगाउनुपर्ने कडा नियमका बाबजुद जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने अनुमान गरिएको थियो ।
तर, अष्ट्रेलियाका सीमा अधिकारीले जोकोभिचलाई प्रवेश दिन अस्वीकार गरे । अष्ट्रेलियाका सीमा बलका अधिकारीले विज्ञप्ति जारी गर्दै जोकोभिचले अष्ट्रेलिया प्रवेशका लागि आवश्यक नियम पूरा नगरेको जनाएको छ ।
‘‘हाम्रो नियम स्पष्ट छ,’’ प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन्, ‘‘स्वास्थ्य मापदण्ड पूरा गर्नु अत्यन्तै जरुरी छ । उनले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । नियमको पूर्ण पालना गर्नुपर्छ ।’’
स्वास्थ्यमन्त्री ग्रेग हन्टले स्वास्थ्य मापदण्डको स्थिति हेरेर भिसा रद्द गरिने बताएका छन् । उनले जोकोभिच निर्णयविरुद्ध अपिल गर्न स्वतन्त्र रहेको बताएका छन् । तर, मन्त्री हन्टले भिसा रद्द भएपछि जो कोहीले पनि देश छाड्नुपर्ने बताएका छन् ।
अष्ट्रेलियन ओपनका आयोजकले पनि जोकोभिचका लागि प्रतियोगितामा सहभागी हुन कुनै विशेष व्यवस्था नगरिएको दाबी गरेको छ । अष्ट्रेलियन ओपन यही जनवरी १७ तारिखबाट मेलबर्नमा सुरु हुँदै छ ।