काठमाडौं । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले ६ विकेटको जित निकालेको हो ।
टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको मलेसियाका लागि अर्का ओपनर जुबैदी जुलकिफ्लेले सर्वाधिक ३२ रन बनाए । त्यस्तै कप्तान अहमेद फैजले २४ रन बनाउँदा सइद अजिजले १४ तथा मोहम्मद अमिरले १६ रन जोडे ।
बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिँदा अभिनास बोहोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ओपनर कुशल भुर्तेललाई १ रनमै गुमाए पनि अर्का अर्का ओपनर आशिफ शेखले अर्धशतकीय पारि खेल्दै नेपालको स्कोर उकासे ।
उनले ३८ बलमा १ छक्का र ७ चौकाको सहायतामा ५७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २१ र रोहित पौडेलले १२ रन बनाए । त्यस्तै दीलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे ।
यो सँगै नेपालले सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सिरिजको चौथो खेलमा नेपालले भोलि पीएनजीसँग खेल्ने छ । अर्कोतर्फ पहिलो खेलमा पीएनजीलाई हराएको मलेसिया आफ्नो दोस्रो खेलमा पराजित भएको हो ।