बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6388
    माघ २२, २०८० सोमबार
    राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई

    बाजुरा । १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो ।

    कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ । यसैगरी बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित ३८ पदक प्राप्त गरेर दोस्रो र खप्तड छेडेदहले आठ स्वर्ण, १४ रजत, चार कास्यसहित २६ पदक सहित तेस्रो स्थान प्राप्त गरेको छ ।

    यसैगरी बूढीगङ्गा नगरपालिकाले सात स्वर्ण, एक रजत र तीन कास्यसहित ११ पदक, स्वामिकात्र्तिक खापर गाउँपालिकाले छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक, त्रिवेणीले दुई स्वर्ण, आठ रजत र छ कास्यसहित १६ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले जानकारी दिए । 

    यस्तै प्रतियोगितामा गौमुलले चार स्वर्ण, तीन रजत गरी सात पदक, जगन्नाथले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक र हिमाली गाउँपालिकाले एक कास्य मात्रै हात पारेको छ । सहभागी नौ पालिकामध्ये हिमालीले स्वर्ण र रजत दुवै पदकविहीन बनेको छ ।

    यही माघ १५ देखि उक्त प्रतियोगितामा सुरु भएको थियो । नौ पालिकाका चार विधाका ६५ खेलमा एक हजार २९ जना खेलाडी सहभागी थिए । उक्त प्रतियोगिताको शुभारम्भ सांसद बद्रीप्रसाद पाण्डेले गरेका थिए । 

    जितको शिल्ड बूढीनन्दा नगरप्रमुख जनककुमार बोहराले ग्रहण गरेका छन् । जिल्ला खेलकुद समितिले शिल्ड हस्तान्तरण गरेको थियो । दोस्रो हुने बडीमालिका र तृतीयसहित अनुशासन विधाको पुरस्कार खप्तड छेडेदह गाउँपालिकालाई समेत प्रदान गरिएको छ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड बूढीगङ्गा नगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ ।

    नगर उपप्रमुख माया कुँवरलाई बूढीनन्दा नगरपालिकाले ओलम्पिक हस्तान्तरण गरेर आयोजनाको जिम्मेवारी दिएको हो । यसअघि खप्तड छेडेदहले पनि बूढीनन्दालाई झण्डा हस्तान्तरण गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij