काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बाँगीमा सुरु हुनेछ ।
समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ ।
सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ । नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो ।
माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । हङकङकी मारिको हिल १०० र चान का यिंग केरीले ८७ रन बनाएका थिए ।