काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बु (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनल पुग्ने टोलीको योजना रहेको बताएका छन् । बिहीबार प्रतियोगिताको प्रि–म्याच पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले साफका सबै खेल महत्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका हुन् ।
‘साफका सबै खेल महत्वपूर्ण हुनेछ, हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ,’ राष्ट्रिय टोलीका नियमित कप्तान किरणले भने । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलि (शुक्रबार)बाट माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा श्रींलका र बंगलादेश भिड्ने तालिका रहेको छ । नेपालले भोलिनै राति ९ः३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ । कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाको लागि खेल्ने बताए ।
‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ, हामी उत्कृष्ट नतिजाको लागि मैदान उत्रने छौँ,’ राष्ट्रिय टोलीबाट सर्वाधिक ७४ क्याप जितेका गोलरक्षक किरणले भने । किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भएपनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए ।
‘पक्कैपनि उनिहरू (माल्दिभ्स)लाई घरेलु मैदानको फाइदा हुनेछ । उसका घरेलु समर्थक हुनेछन् । तर, त्यसले फरक पर्दैन ।’ यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए ।
‘हामीले राम्रो तयारी गरिरहेका छौँ । सबैलाई थाहा छ, हामी फाइनल पुगेको छैनौँ । हामी आफ्नो राम्रो खेल दिनेछौँ । माल्दिभ्स साविक विजेता समेत हो । उ राम्रो छ । माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको साथ छ । माल्दिभ्ससँग केही उच्च प्रदर्शन गर्ने खेलाडी समेत छन् । साविक विजेता (माल्दिभ्स)सँग खेल्न कठिन हुन्छ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताईरीको अनुपस्थितिमा श्रेष्ठले भने ।
यस्तै प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहेपनि आफुहरू उपाधि दाबेदारी प्रस्तुत गर्न बताएका छन् ।३० असोजसम्म चल्ने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, आयोजक माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् । भुटान र पाकिस्तान भने यस पटक प्रतियोगितामा समावेश छैनन् ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्र्पा गर्नेछन् ।